२९ वर्षीय उप-मेयर उम्मेदवार सल्मा खातुन

27244

पोखरिया नगरपालिकालाई व्यवस्थित नगर बनाउन चाहन्छु : नेतृ खातुन

नेपालको नयाँ संविधान २०७२ ले हरेक जाती धर्म र सम्प्रदायका सबैलाई समेट्ने गरी निकै उद्दार नीति अंगिकार गरेको छ । संघियताको आधिकारिक घोषणा पनि यो संविधानले निर्दिष्ट गरेको छ । सोही अनुसार नै मुलुकमा पहिलो पटक ७ वटा प्रदेशको संरचना निर्माण र कार्यान्वयनको बाटोमा अगाडी बढेको छ । महिलाका सवालमा केहि स्थानहरुमा यो संविधान विश्वका धेरै संविधानहरु मध्ये निकै उद्दार रहेको छ । हुन पनि १३ हजार भन्दा बढि महिलाहरुले स्थानीय तहमा एकसाथ अवसर पाउनु त्यसको ज्वलन्त उदाहरण हो । अरु प्रदेशमा झैं २ नम्बर प्रदेशमा पनि आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा महिलाहरुले अवसर पाइरहेका छन् । त्यस्तै अवसर पाउनेहरु मध्ये सल्मा खातुन पनि एक हुन् । उनले पनि संघीय समाजवादी फोरमको तर्फबाट पोखरिया नगरपालिकाको उपमेयरको उम्मेदवार बन्ने अवसर प्राप्त गर्दैछन् भन्ने चर्चा चुलिएको छ । तिनै पोखरिया नगरपालिकाको उपमेयरको दावेदार सल्मा खातुनसँग गरिएको कुराकानीको सम्पादित अंश ः
१) सल्मा जी, तपाईको लागि पोखरीया के हो ?
पोखरीया नगरपालिका सर्वप्रथम त मेरो जन्मस्थान हो । जुन स्वतः मलाई प्यारो छ । आर्थिक हिसाबले पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया ग्रामीण क्षेत्रको केन्द्रविन्दु पनि हो । तर अपेक्षाकृत रुपमा यस स्थानको विकास हुन नसकेको देख्दा धेरै दुःख लाग्छ ।
२) यति महत्वपूर्ण स्थान हुँदाहुँदै पनि पोखरियाको विकास किन हुन नसकेको होला ?
यसको लागि म सबभन्दा अगाडि यहाँका राजनीतिक दल तथा अग्रपंक्तिमा रही अगुवा कहलिने व्यक्तिहरुलाई दोषी देख्छु । यति ठूलो अभिभारा लिएर पनि पोखरियाको विकास गर्न नसक्नु ती व्यक्तिको कमजोरी हो । साथै म यहाँका युवाहरुलाई आफ्नो गाउँठाउँको विकासका लागि उनीहरु स्वयं नै सक्रिय भइ यसलाई अभियान कै रुपमा लैजान आग्रह गर्छु ।
३) यहाँ संघीय समाजवादी फोरमको तर्फबाट पोखरिया नगरपालिकाको उपमेयरको उम्मेदवार हुनुहुन्छ, यहाँलाई सल्मा खातुन भनेर कत्तिले चिन्नु हुन्छ ?
पोखरिया मेरो जन्मस्थान नै हो । म यहीँ हुर्केँ, पढेँ । अध्ययन तथा जागिरको सिलसिलामा म वीरगञ्ज तथा बाहिर रहँदा पनि निरन्तर रुपमा यो स्थानसँग सम्पर्कमा छु । एन.जी.ओ. मा कार्यरत रहँदा विभिन्न कार्यस्थल मध्ये मैले आफ्नै पहलमा पोखरियालाई चयन गरेँ । बाहिर जे जति गरे पनि आफ्नो मातृभूमिको लागि केही नगरे जिवन सार्थक हुँदैन जस्तो लाग्छ मलाई । यसका अलावा अधिकांशले मलाई विशेष गरी सञ्चारकर्मीको रुपमा चिन्नुहुन्छ । भित्री गाउँका कत्तिपयले मेरो अनुहारबाट नचिने पनि मेरो आवाजलाई राम्ररी चिन्नुहुन्छ । यतिमात्र होइन म २०६२/६३ सालदेखि नै मधेस र मधेसीको हक अधिकारको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा लागेकी छु । सो क्रममा पटक पटक यहाँ गइरहन्छु ।
४) तपाई तराईलाई नै कर्मथलो बनाएर अगाडी बढि रहनुभएको छ । अन्य ठाउँको भन्दा यहाँका महिलाहरु पछाडी पर्नुको कारण के लाग्छ यहाँलाई ?
तराई मधेशका महिला पछि पर्नुका मुख्य कारण अशिक्षा, गरीबी र सचेतना अभाव हो । गरीबीका कारण उनीहरु शिक्षाबाट वञ्चित हुन पुग्छन्, बालविवाह हुनुको एक मुख्य कारण गरीबी पनि हो । बालविवाह हुने बित्तिकै उनीहरु धेरै अवसरबाट वञ्चित हुन पुग्छन् । त्यसै गरी कहिलेकाहीँ विभिन्न रुढीवादी परम्पराको बीच हुर्किएका हामी शिक्षित भएर पनि सचेतना अभावका कारण महिला हिंसा, दाँइजो प्रथा, छुवाछुत, भेदभाव जस्ता कुरालाई प्रसय दिइरहेका हुन्छौं ।
५) तराईका पिछडिएका महिलाहरुलाई अगाडि ल्याउन के गर्नुपर्छ ?
यहाँका पछाडी परेका महिलाहरुलाई समाजको मुलधारमा ल्याउन शिक्षा र सचेतनासँगसँगै रोजगारमूलक सीपको व्यवस्था गरिनु एकदम जरुरी छ । महिलाहरु आर्थिक रुपमा सबल हुने बित्तिकै धेरै समस्या समाधान हुन्छन् । जस्तै परिवारलाई आर्थिक सहयोग हुँदा गरीबी घट्छ, सबैले समान शिक्षाको अवसर पाउँछन्, बालबालिकामा पनि त्यही सँस्कार विकसित हुँदै जान्छ र भविष्य पक्कै पनि राम्रो हुन्छ ।
६) त्यसो भए महिलाहरुलाई सक्षम र सबल बनाउन यहाँको के योजना छ ?
त्यसका लागि महिलाहरुको लागि सहज, सुलभ र अनिवार्य रुपमा शिक्षाको व्यवस्था गर्नुका साथै महिला लक्षित बजेटको दुरुपयोाग हुन नदिई स्वरोजगार, सीपमूलक र जनचेतनामूल्क तालिमका लागि पहल गर्ने मेरो विशेष योजना रहेको छ ।
७) पोखरिया नगरपालिकाको उप-मेयर पदका लागि धेरै उम्मेदवारहरु हुनुहुन्छ । यहाँ टिकट पाउनुभयो भने जनताले सल्मा खातुनलाई नै किन भोट दिने ?
एउटा शिक्षित, सक्षम, सबल र निश्पक्ष युवा नेतृत्वका लागि । किनकि पोखरिया मात्र हैन पूरै देशलाई अहिले यस्तै नेतृत्वको आवश्यकता छ । हाम्रो समाजमा रहेका विभिन्न विकृतिहरुको अन्त्य गरी, महिला बालबालिका, त्यसमा पनि विशेष गरी अल्पसंख्यक र दलित समुदायका मुद्दाको सुनुवाई गरी समाजमा उनीहरुको सम्मानजनक उपस्थितिका लागि र पोखरीया नगरपालिकालाई बालमैत्री नगरपालका बनाउन । मैले एक दशकदेखि एक सञ्चारकर्मीको रुपमा यी मुद्दाहरुको सुनुवाईका लागि वकालत गर्दै आएकी छु । अब प्रत्यक्ष रुपमा ती कार्य गर्ने जिम्मेवारी म अरु भन्दा निश्पक्ष र सशक्त रुपमा गर्न सक्छु त्यसैले मलाई भोट दिई सो अवसर प्रदान गर्न म सम्पूर्ण दिदीबहिनी, अग्रह तथा युवाहरुलाई आग्रह गर्दछु ।
८) पोखरिया नगरपालिकाबाट एक चेलीको रुपमा र सञ्चारकर्मीको रुपमा यहाँले माया पाउनुभएको छ । तपाई उपमेयरमा जित्नु भयो भने उहाँहरुले के पाउने ?
सबभन्दा पहिले म पोखरिया नगरपालिकालाई सफा र व्यवस्थित नगरको रुपमा विकसित गर्न चाहन्छु । महिला र बालबालिकामैत्री स्थानीय तहको रुपमा पोखरीया नगरपालिकालाई विकसित गर्ने पनि मेरो योजना छ । साथै यहाँका युवाहरुको लागि विशेष पुस्तकालय, खेल, व्यायामको व्यवस्थासँगै यहाँको शैक्षिक स्तर सुधार गर्न मेरो बढी जोड हुनेछ ।
९) यहाँ विभिन्न प्रतिबद्धताहरु त गर्नुभयो । तपाई जित्नुभयो भने ती प्रतिबद्धता कसरी र कत्तिको पूरा गर्नुहुन्छ ?
म पनि यही समाजमा जन्मे हुर्केकी हुँ । यो समाजको समस्या, पीडा मैले आफैंले भोगेकी छु । त्यसैले यो मेरो भनाइ मात्र नभइ प्रतिबद्धता हो । मेरो क्षमता र अधिकारले भ्याएसम्म मैलै यी सबै कुरा पूरा गरेर देखाउनेछु ।
१०) तपाईको महत्वपूण विाचार र समयको लागि धेरै धेरै धन्यवाद !
मेरो विचारलाई आम जनतामाझ पु¥याउन सहयोग गर्नु भएकोमा यहाँ लगायत मध्य नेपाल सन्देशको सम्पूर्ण टीमलाई पनि मेरो तर्फबाट धन्यवाद ! अन्त्यमा म पोखरीया नगरवासी मेरा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा अग्रजहरुलाई मेरो क्षमता र विचार माथि विश्वास गरी एक पटकको लागि अवसर प्रदान गर्न आग्रह गर्दछु । धन्यवाद !
 


SHARE