वीरगन्ज महानगरमा विजय

5716

वीरगन्ज. असोज ११ – देशकै कान्छो महानगरपालिका तथा दुई नम्बर प्रदेशको एक मात्र महानगर; वीरगन्ज महानगरपालिकाको नगर प्रमुख (मेयर) पदमा संघीय समाजवादी फोरम नेपालको तर्फाबाट मेयर पदका प्रत्यासी विजयी कुमार सरावगी निर्वाचित हुनुभएको छ ।
निर्वचन आयोगले बुधवार सार्वजनिक गरेको वीरगन्ज महानगरपालिकामा रहेका विभिन्न ३२ वटा वडाको मतगणना अन्तिम मतपरिणाम सार्वजनिक गरेको विवरण अनुसार १९ हजार ३ सय ९३ मत प्राप्त गर्दै संघिय समाजवादी फोरम नेपालका विजय कुमार सरावगी मेयर पदमा निर्वाचित भएका छन् ।
सरावगीले आफ्नो निकटम प्रतिद्वन्द्धी नेपाली कांग्रेसको तर्फाबाट मेयर पदका प्रत्यासी अजय कुमार द्विवेदीलाई दुई हजार १ सय ९६ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका द्विवेदीले १७ हजार १ सय ९७ मत प्राप्त गरेका छन् ।
गत हप्ताको मंगलवार दिउँसो देखि सुरु गरेको मतगणन लगातार ९ दिन सम्म चल्दै आज सम्पन्न भएको ।महानगरपालिका वीरगन्जको प्रथम मेयरको रुपमा फोरम नेपालका उम्मेदवार सरावगी निर्वाचित भए पछि उत्साहित पार्टीका नेता तथा कार्यकर्ताहरुले नाचगान गर्दै एकापसमा बधाई साटासाट गरेका थिए ।
नगर उप-प्रमुख (उप-मेयर)मा भने नेपाली कांग्रेसकी शान्ति कार्की निर्वाचित भएकी छन् । १९ हजार ६ सय ७ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वन्द्धी संघीय समाजवादी फोरम नेपालकी पिंकी देवी यादवलाई पराजित गर्दै कांग्रेसकी शान्ति कार्की वीरगन्ज महानगरकी पहिलो उप-प्रमुख पदमा निर्वाचित भएकी हुन् ।

को हुन् विजय सरावगी? 

व्यापारी घरानामा जन्मिएका विजयी सरावगी सफल उद्योगी ब्यवसायी हुन् । उनी उद्योग वाणिज्य संघको अध्यक्ष समेत रहिसकेका छन् । २०६३ को लोकतान्त्रिक आन्दोलनको बेला वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष सरावगीनै थिए । पछि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत बने ।
राजनीतिमा खासै सक्रिय नरहे पनि उनमा रुचि भने राजनीतिक गतिविधिहरुमा सुरु देखिनै थियो । पछिल्लो मधेस आन्दोलनमा प्रत्यक्ष सक्रिय नरहेता पनि आन्दोलनको पक्षमा उनले अप्रत्यक्ष रुपमा धेरै ठुलो भूमिका खेलेका थिए । ६ महिना अघि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेसँगै उनले मेयरको टिकट पाएका थिए । सरावगी फोरम नेपाल प्रवेश गर्न आघि कांग्रेस निकट थिए । चिरञ्जीवी लाल सरावगीका छोरा विजय बुवासँगै ब्यवसायमा सानै उमेरदेखि लागेका थिए । बुवा चिरञ्जीवी सरावगी लायन्स क्लबको गभर्नर हुँदा विजय पनि लायन्स क्लबमा संलग्न भै समाजिक कार्यमा लागेका थिए ।