ठाकुरराम क्याम्पसमा विद्यार्थीको धर्ना

392

वीरगञ्ज, २२ माघ वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको पुस्तकालयमा किताबको माग त्यहाँका विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्ष अगाडि धर्ना दिएका छन् । उनीहरुले कार्यकक्षमा तालाबन्दी गरेर धर्ना दिएका हुन् । क्याम्पसको क्षेत्रीय पुस्तकालयमा कितावको चरम अभाव भएको भन्दै नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घका विद्यार्थी नेताको अगुवाइमा साृमबार बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा धर्ना दिइएको थियो ।
क्याम्पस प्रशासनले पुस्तकालय र क्याम्पसका अन्य पूर्वाधार सुधारमा चासो नदिएको आरोप विद्यार्थी नेता दिलीप कार्कीले लगाएका छन् । क्याम्पस प्रमुख र प्रशासन विद्यार्थीका माग सम्बोधनमा उदासीन भएको उनले बताए ।
क्याम्पसले विद्यार्थीसँग पुस्तकालय शुल्क असुले पनि किताबको प्रबन्ध मिलाउन नसकेको र विगत ३ वर्षयता पुस्तकालयमा नयाँ किताब नल्याइएको विद्यार्थी नेता मनोज साहले बताए । पाठ्यक्रम परिवर्तनका कारण भएका केही किताव पनि कामै नलाग्ने अवस्थामा पुगेको विद्यार्थीहरुले बताएका छन् ।
सोही संगठनको अगुवाइमा विद्यार्थीहरूले क्याम्पसको पूर्वाधार, अध्ययनअध्यापनको उचित वातावरण, प्रशासन र आर्थिक विभागको पारदर्शितालगायतका माग राखी माघ १२ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रमुख प्रमोद कुशवाहले भने वार्तामार्फत सहमतिको प्रयास भइरहेको बताए । तालाबन्दी भए पनि पढाई र अन्य काममा कुनै खालको अवरोध नभएको विद्यार्थी नेताहरुले स्पष्ट पारेका छन् ।