राष्ट्रिय मानव अधिकार आयोगको काम प्रभावकारी भएन : सहभागी

191

वीरगंज, चैत्र १६ – राष्ट्रिय मानव अधिकार आयोग नेपालले विहिबार वीरगंजमा आयोजना गरेको अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा सहभागीहरुले मधेस आन्दोलनमा मानव अधिकारको चरम हनन भएको बताएका छन् ।

वीरगंज महानगरपालिका कार्यालयको सभा हलमा आयोजित उक्त कार्यक्रममा वीरगंज महानगरपालिकाको नगर उप-प्रमुख शन्ति कार्की, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, वीरगंज महानगरपालिका कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डा. गणेश गेग्मी, जिल्ला सशत्र प्रहरी पर्साका प्रहरी उपरीक्षक शान्ति कुमार कार्की, उच्च अदालत बार एसोसिएशनका अध्यक्ष सुधीर कर्ण, अधिवक्ता कमलमोहन पोखरेल, पत्रकार, अनिल तिवारी, केसी लामिछाने, रितेश त्रिपाठी, प्राध्यापक हरेराम ठाकुर, विभिन्न विषयगत कार्यालयका प्रमुख लगायत सहभागीहरुले मधेस आन्दोलनको क्रममा व्यापक मानव अधिकारको हनन भएको बेला समेत राष्ट्रिय मानव अधिकार आयोगले कुनै चासो नदेखाएको आरोप लगाएका थिए ।

त्यसैगरी सहभागीहरुले मानवअधिकारको बारेमा ग्रामिण क्षेत्रका मानिसहरुलाई जानकारी नभएको हुनाले ग्रामिण क्षेत्रमा मानव अधिकार हनन हुँदा पनि मनाव अधिकारको उपयोग हुननसकेको चिन्ता व्यक्त गरेका थिए । स्थानीय तहमा व्यापकरूपमा भ्रष्टाचार भइरहेको र त्यसको जिम्मेदार कर्मचारीहरू भएको सहभागीहरूले बताएका थिए । महिला हिंसा, दाइजोप्रथा, बालविवाह, प्रहरी दमन, बिना कारण प्रहरीले मानसिक यातना दिने गरेको जस्ता विषयमा छलफल भएको थियो ।

जन्मसिद्ध र अङ्गीकृतका सन्तानले वंसज सरह नागरिकता प्रदान गर्ने प्रावधान संविधानमा भएपनि कर्मचारीहरूको लापरवाहीको कारण लाखौँ व्यक्तिहरु नागरिकता बिहिन रहनु परेको अवस्था रहेको सहभागीहरुले आफ्नो चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोजका सदस्य सुदीप पाठकले राष्ट्रिय मानव अधिकार आयोगले ८० प्रतिशत कार्य तराई मधेस क्षेत्रमा मधेस मुद्दाको विषयमा काम गरेको बतानु भएको थियो । उहाँले आफूबाट परिवर्तन गरी समाजलाई देखाउन पाठकले आग्रह गर्नु भएको थियो । व्यवहार, सिद्धान्त, प्रेम, मान्यताले मानिसको मन परिवर्तन गर्ने भएकोले बल प्रयोग नगर्न आग्रह गर्नु भएको थिए ।


SHARE