दुर्घटना बढेपछि मुग्लिन सडकमा सतर्कता अपनाउन प्रहरी अनुरोध

83

चितवन चैत १९ चितवनको नारायणगढ­मुग्लिङ सडक खण्डमा ढुंगा खसेर दुर्घटना बढ्न थालेपछि सडक सुरक्षामा सतर्कता अपनाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार मुख्यगरी उक्त क्षेत्रका चेपाङ डाँडा, कालीखोलादेखि मुग्लिन बजारसम्मको सडक जोखिममा रहेकाले सडक सुरक्षा अपनाउन भनिएको छ। ९ चैतमा सडकमाथिबाट ढुंगा खसेर बा२ ख ५४४९ नम्बरको माइक्रो बसका चालक मकवानपुर दामन–६ बस्ने दीपक रुम्बाको मृत्यु भएको थियो। सो दुर्घटनामा माइक्रोको अगाडिको भागमा क्षति भएको थियो। यस्तै, आइतबार राति पनि ढुंगा खसेर बा३ ख ४४ र बा ३ ख ९८३८ नम्बरको माइक्रो बस, बा १६ च ६९७० नम्बरको कार तथा ना ७ ख १३४९ नम्बरको बसमा क्षति पुगेको थियो। ढुंगा खसेर बा३ख ४४ नम्बरको माइक्रो बसमा सवार भरतपुर महानगरपालिका–७ बस्ने २२ वर्षका अविशेष भण्डारीसमेत घाइते भएको प्रहरीले जनाएको छ। माथिल्लो भिरालो जमिनमा आगलागीका कारण समय समयमा माथिबाट ढुंगा खसी सवारी दुर्घटना तथा मानवीय र भौतिक क्षति भएकोले यात्रामा सजगताका लागि प्रहरीले अनुरोध गरेको छ। यसरी सुख्खा समय आएसँगै दुर्घटनाको क्रम बढ्न थालेपछि प्रहरीले अगाडिको सवारीसँग कम्तीमा १२ मिटरको दूरी कायम गरी हिँड्न र नियन्त्रित गतिमा सवारी चलाउन भनेको छ। ट्राफिक प्रहरीले सोमबार एक सूचना जारी गरी उक्त इलाकामा सवारी ओभरटेक नगर्न जोखिम क्षेत्रमा सवारी नरोक्न, पार्किङ गरेर नबस्न तथा सावधानी अपनाएर हिंडन् अनुरोध गरेको छ। यस्तै, उक्त गाडीको बाहिर यात्री नराख्न सिट क्षमताभन्दा बढी यात्रु नराख्न र तोकिएको तौलभन्दा बढी भार नबोक्नसमेत सवारी चालकलाई आग्रह गरिएको छ।


SHARE