नारायणी अस्पतालले शुल्क समायोजन र गुणस्तर सुधार गर्ने

493

वीरगंज, वैशाख २६ – लामो समय देख नारायणी उपक्षेत्रीय अस्पतालमा भएको अनियमित शुल्क वृद्धिका कारण सास्ती झेल्दै आएका सेवाग्राहीहरुले अब राहत पाउने भएका छन् । नारायणी अस्पताल सुधार संघर्ष समिति, अस्पताल प्रशासन तथा अस्पताल विकास समिति विच बुधबार भएको वार्ता पछि अस्पताल प्रशासनले वृद्धि गरिएको शुल्क समायोजन गर्ने सहमति जनाएको छ ।

समायोजक पश्चात नेपाल र भारतका विभिन्न स्थानबाट आउने सेवाग्राहीहरुले अब राहत मिल्ने बुझिएको छ । मध्ये तराई र आसपासका क्षेत्रको स्वास्थ्यको केन्द्रको रुपमा परिचित नारायणी उपक्षेत्रीय अस्पतालले केहि महिना अगाडि अचानक प्रदान गर्दै आएको सेवा सुविधाहरुको शुल्क वृद्धि गर्दा सेवाग्राहीहरु मार्कामा परेका थिए । मध्य तराईका ग्रामिण क्षेत्रबाट सस्तो र गुणस्तरिय स्वास्थ्य सुविधा लिन आउने सेवाग्राहीहरु अस्पताल प्रशासनले गरेको अनियमित शुल्क वृद्धका कारण सास्ती भोग्दै आएका थिए ।

शुल्क वृद्धिको विरोध गर्दै विगत एक महिना देखि विभिन्न कार्यक्रमहरु गरि निर्णयलाई फिर्ता लिन संघर्ष पश्चात बुधबार अस्पतालमा भएको त्रिपक्षी बैठकमा अस्पताल प्रशासनले गरेको अनियमित शुल्क वृद्धिलाई समायोजन गर्ने सहमति जनाएको हो । त्यसैगरि अस्पताल प्रशासनले अस्पतालले प्रदान गर्ने अन्य सेवा सुविधाहरुको अवस्थामामा पनि सुधार गर्दै लैजाने सहमत जनाएको संघर्ष समितिका संयोजक ओमप्रकाश सर्राफले बताए ।

वार्तामा अस्पतालबाट उपलब्ध हुँदै आएको खानाको गुणस्तरमा सुधार, लक्षित वर्गको लागि नि:शुल्क उपचार तथा औषधिको व्यवस्था गर्ने वातावरण बनाउने, सबै नि:शुल्क प्रदान गरिने औषधिहरु उपलब्ध गराउने, अस्पतालको सरसफाईमा ध्यान दिने, अस्पतालले प्रदान गर्दै आएको सम्पूर्ण सेवा र सुविधाहरुलाई सन्तोषजनक बनाउने लगायत सहमति भएको छ । संघर्ष समितिका संयोजक ओमप्रकाश सर्राफ र नारायणी उपक्षेत्रिय अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ताद्वारा हस्ताक्षर गरिएको सहमति पत्रमा सहमतिहरुलाई आगामी बोर्ड बैठकबाट कार्यनवयन गराउने विकास समितिका अध्यक्ष गुप्ताले आश्वासन समेत व्यक्त गरेका छन् ।

वार्तामा वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, हिन्दु परिषद नेपालका पर्सा अध्यक्ष धर्मेन्द्र पटेल, सानोपाईलाका अजितम पाण्डे, हेमन्त तमाङ, रामेस्वर प्रसाद, पानालाल पटेल लगायतको सहभागिता रहेको थियो । वार्ता र सहमतिको मध्यस्तकर्ता स्थानीय अगुवा राजनितिक कर्मी निजामोदिन समानी रहेका थिए ।